काठमाडौं । सत्ता साझादेर दल नेकपा एमाले र नेपाली कांग्रेसबीच खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने कांग्रेस सभापति शेरबहादुर देउवासँग निकटता बढाएको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा खटपट हुनु, कांग्रेका सांसद मोहनबहादुर बस्नेतमाथि टेरमक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मुद्दा दर्ता गर्ने जस्ता कार्य भइरहेका बेला माओवादी केन्द्र भने कांग्रेस–एमाले गठबन्धन टुटाउने ‘कसरत’ गरिरहेको छ ।
त्यसैल पनि माओवादी केन्द्र कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाउन केन्द्रित छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति कांग्रेसका केही नेता असन्तुष्ट भएको सुनिरहँदा माओवादी देउवालाई फकाउन लागेको हो ।
माओवादीका अध्यक्ष प्रचण्डले यसअघि नै देउवा प्रधानमन्त्री बने सरकार बाहिरै बसेर भएपनि समर्थन गर्न तयार रहेको सन्देश बूढानीलकण्ठ पुर्याएका छन् ।
पार्टीभित्र र भूराजनीतिक रूपमा चर्को दबाब भएपनि देउवा अझै पर्ख र हेरको रणनीतिमा छन् ।
मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको थालनीको क्रममा देउवाको गृहजिल्ला डडेलधुरा पुगेका प्रचण्डले आज बिहान देउवालाई फोन गरेका थिए ।
देउवासँग फोनवार्ताबारे प्रचण्डले पत्रकारहरूसँग भनेका थिए–‘म यहाँ बस्दै गर्दा देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत छ भन्नुभयो ।’
उनले फोन वार्तामा थप के कुराकानी भयो भने खुलाएनन् । प्रचण्डको फोनलगत्तै माओवादीका उपमहासचिव जनार्दन शर्मा देउवाको निवासमै पुगे ।
देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको उनको भनाइ छ ।
यसअघि पनि देउवा थाइल्याण्डबाट फर्केलगत्तै सरकार फेरिने चर्चा चलेपनि केही साम्य भएको छ । कांग्रेस–एमालेकै नेताहरूले तत्काल गठबन्धन नभत्किने र सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताउँदै बएका छन् ।
अहिले कांग्रेसभित्रैबाट सरकारको आलोचना भइरहनु र देउवा पनि ओलीको कार्यशैलीप्रति सन्तुष्ट नभएका बेला शर्मा बूढानीलकण्ठ पुग्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
शर्माले भने सामाजिक सञ्जालमा तस्विरर सेयर गर्दै ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल ।’ भएको बताएका छन् ।