दैलेख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न पार्टीहरूसँग पार्टी एकता प्रक्रिया सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका छन् ।
आइतबार दैलेखमा आयोजित पार्टीको बैठकलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले विचार र राजनीतिक आधारमा टेकेर मात्र एकता गर्दा दीगो एकता सम्भव हुने बताए ।
'पार्टीको यथास्थितिमा परिवर्तन ल्याउने भनेको सङ्गठन रूपान्तरण गर्नु हो,' उनले भने, 'विभिन्न पार्टीहरूसँग पार्टी एकताको प्रक्रिया सकारात्मक दिशातर्फ अघि बढेको छ ।'
उनले पार्टीभित्र स्वस्थ बहस र छलफलको संस्कृति विकास गर्नुपर्ने आवश्यकता औँल्याए । स्वार्थ समूहको प्रभावमा पार्टीलाई अधोगतितर्फ लैजान नदिई सङ्गठनलाई लेनिनवादी सिद्धान्तअनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।