काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको र त्यो पूरा भएरै छाड्ने दाबी गरेका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले एकल बहुमत ल्याउने काम कष्टपूर्ण भए पनि एमालेका लागि त्यो सम्भव भएको जिकिर गरे ।
कार्यक्रममा उनले भने–‘हामीले मिसन ८४ को उद्देश्य लिएका छौं । एकल बहुमत ल्याउने उद्देश्य लिएका छौं । यो असम्भव छैन । यो विल्कुलै सम्भव छ । कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीकहाँ छ । तर, हामीले धेरै सिट ल्यायौं भने कसैलाई बहुमत ल्याउन नसक्ने परिपाटीमा पनि सकिन्छ ।’
अहिलेको समानुपातिक प्रणालीमा हङ पार्लियामेन्टमा हुने बताउँदै उनले यही प्रणालीमा बसेर बहुमत ल्याउन लाग्नुपर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले भने–‘समानुपातिक प्रणाली साधरणतया हङ पार्लियामेन्टमा हुन्छ । यसले कसैको बहुमत आउँदैन । तर, प्रणाली हामीले चुनिसकेको छौं । अहिले यो प्रणाली नै कायम रहन्छ । यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्ने छ । यो कष्टसाध्य छ, चुनौतीपूर्ण छ तर पनि यो काम नेकपा एमालेका लागि सम्भव छ । हामी एकल बहुमत ल्याउने तयारीमा जुटेका छौं ।’