Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रधानमन्त्रीपछि परराष्ट्रमन्त्रीसँग युरोपियन युनियन आबद्ध राजदूतहरूको शिष्टाचार भेट

प्रधानमन्त्रीपछि परराष्ट्रमन्त्रीसँग युरोपियन युनियन आबद्ध राजदूतहरूको शिष्टाचार भेट

सोमवार , जेठ ६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका युरोपियन युनियन आबद्ध राजदूतहरूले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेटवार्ता गरेका छन् ।

मन्त्री राणासँग नेपालका लागि युरोपियन युनियन आबद्ध देशका काठमाडौंस्थित राजदूत एवं नयाँ दिल्लीस्थित गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूले शिष्टाचार भेट गरेका हुन्।

मन्त्रालयमा सोमबार भएको भेटका क्रममा नेपाल र युरोपियन युनियन एवं युनियनका सदस्य राष्ट्रहरुको सम्बन्धका विविध विषयहरुका साथै आपसी हित र साझा चासोका विषयमा कुराकानी भएको थियो ।

त्यस अवसरमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा युरोपियन युनियन र यसमा आबद्ध राष्ट्रहरुले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेकी थिइन्।

उनले नेपाल सरकारले आइतबारमात्र सम्पन्न गरेको सगरमाथा संवादमा युरोपियन युनियनका सदस्य राष्ट्रहरुका तर्फबाट भएको सहभागिताका लागि पनि धन्यवाद ज्ञापन गरेकी थिइन्।

मन्त्री डा. राणाले पछिल्लो समयमा नेपाल जलवायु परिवर्तनको असरबाट अकल्पनीय रुपमा पीडित भइरहेको र नेपालले अन्तर्राष्ट्रिय रुपमा जलवायु न्याय माग गरिरहेकाले नेपालको यस अभियानमा साथ र सहयोगका लागि युरोपियन युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गरेकी थिइन्।

मन्त्री डा. राणाले शिष्टाचार भेटका क्रममा युरोपियन युनियनका सदस्य राष्ट्रहरुसँग नेपालमा पर्यटन, कृषि, पूर्वाधार निर्माण, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका लागि आफ्ना देशका निजी क्षेत्रलाई प्रोत्साहित गर्नका लागि पनि आग्रह गरेकी थिइन्।

नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुन लागेकामा नेपाललाई त्यसपछिको आवश्यक सहयोगका लागि पनि मन्त्री डा। राणाले युरोपियन युनियन आबद्ध राजदूतहरुमार्फत् युरोपियन युनियनका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेकी थिइन्।

शिष्टाचार भेटमा काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपियन युनियन र आबद्ध सदस्य राष्ट्रका २० जना मिसन प्रमुख एवं राजदूत सहभागी थिए।

यसअघि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077