Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

घरमा ताला लगाएर आन्दोलनमा आउनुस्, प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्नुपर्छ : लिङ्देन

घरमा ताला लगाएर आन्दोलनमा आउनुस्, प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्नुपर्छ : लिङ्देन

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक हुने बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा लिङ्देनले प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने दावी गरे ।

उनले भने–‘अस्ती प्रधानमन्त्रीले संसदमा भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो । भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरुलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो । यसपालि टुंग्याएरै छोड्ने हो । त्यही हिसाबले हाम्रो मिहिनेत बढाऔं ।’

उनले आन्दोलनमा आफूमात्र नभई सिंगो परिवार नै लिएर आउन आह्वान समेत गरे । सकेसम्म छरछिमेक र आफन्तलाई पनि लिएर आन्दोलनमा आउन र नसके घरमा ताला लगाएर सपरिवार आउन उनले अनुरोध गरे ।

अध्यक्ष लिङ्देनले भने–‘हाम्रो मिहिनेतलाई बढाऔं, हाम्रो क्रियाकलापलाई बढाऔं, हाम्रा छरछिमेकहरुलाई, आफन्तहरुलाई जेठ १५ गतेदेखि हुने आन्दोलनमा सहभागी हुन प्रेरित गरौं । आन्दोलनमा एक्लैएक्लै आइन्थ्यो भने यो चोटी आफ्नो सिंगै परिवार लिएर आऔं ।’

उनले पटक–पटक आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने बताए । यसअघि चैत १५ गते काठमाडौंको तिनकुनेमा राप्रपा समेत सहभागी राजावादीहरुको प्रदर्शन हिंसात्मक भएको थियो ।

तर यसपालिको प्रदर्शन शान्तिपूर्ण हुने र निरन्तर चलिरहने लिङ्देनले बताए ।

उनले भने–‘जेठ १५ गते त सुरु हुने हो । शान्तिपूर्ण हुन्छ, आयोजकको पूर्ण नियन्त्रणमा हुन्छ । हाम्रोतर्फबाट कुनै पनि हिंसात्मक कृयाकलाप हुँदैन । अरुलाई पनि हामीले हिंसा गर्न दिँदैनौं । भनेको, सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने र शान्तिपूर्ण प्रदर्शनलाई हिंसामा भड्काउन दिँदैनौं ।’

आन्दोलनको अनुगमन गर्न मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई पनि आग्रह गर्ने उनले बताए ।

आन्दोलनमा कुनै पनि प्रकारको हिंसा हुँदैन भनेर बुझाउन अगुवा कार्यकर्ताहरुलाई उनले निर्देशन दिए । भारतमा ब्रिटिश शासन शान्तिपूर्ण आन्दोलनबाट अन्त्य भएको उदाहरण दिँदै लिङ्देनले भने–‘अलिकति हिंसा भएन, तोडफोड भएन भने कसरी छोड्छन् त यिनीहरुले भन्ने तर्क गर्ने साथीहरु पनि छन् । तर भद्र अवज्ञाबाटै, सत्याग्रहबाटै हामीले हाम्रो मान्यताहरु स्थापित गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077