काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारमा लिप्त भएकै कारणले मुलुक बन्न नसकेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित बदलिँदो विश्व परिवेशमा नेपालले अंगाल्नुपर्ने आर्थिक नीति विषयक अन्तर्क्रियामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सबैतिर भ्रष्टाचार र अनियमितता रहेको बताए । सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको उनको आरोप छ ।
“हामी देश बनाउन नसक्ने होइनौँ, हामी अल्मलिएका छौँ । सबैतिर भ्रष्टाचार छ । सरकारले दण्डहीनतालाई प्रोत्साहन दिनुहुँदैन । त्यसको अन्त्य गर्नुपर्छ । त्यति कुरा हामीले रोक्न सक्यौँ भने नेपाललाई बनाउन सकिन्छ । देश बनाउने इच्छाशक्ति प्रधानमन्त्री र सरकारको हुनुपर्छ । मुलुकको अर्थतन्त्रमा देखिएको चहलपहल रेमिट्यान्सबाटै हो । देशको अर्थतन्त्र खाडीमा गएका नेपालीहरूले धानिरहेका छन्,'' उनले भने ।