काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री हुँदा सहकारी प्रकरणमा नाम जोडिने बित्तिकै हालका गृहमन्त्री रमेश लेखकले ‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजिनमा दिनुपर्ने’ बताएका थिए ।
रवि लामिछाने आहिले त्यहि सहकारी मुद्दामा जेलमा छन् भने गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले लेखकको बचाउ गर्दै पदबाट राजिनामा दिनुनपर्ने बताइरहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, रास्वपा लगाएतले राजिनामा मागिरहेका छन् ।
रवि लामिछाने गृहमन्त्री हुँदा लेखकले दिएको उक्त अभिब्यक्ति अहिले उनलाई नै भारी परेको छ ।
लामिछानेको राजिनामा माग्ने लेखकले आँफु विवादमा परेपछि राजिनामा दिनु पर्दैन ? भन्दै चौतर्फी आलोचना सुरु भएको छ । त्यतिबेला कांगे्रसले समेत सदनमा लामिछानेको राजिनामा मागेका थिए ।
हिजो बसेको रास्वपाको संसदिय दलको बैठकले आजको संसद बैठकमा गृहमन्त्रीबिरुद्ध कडारुपमा प्रस्तुत हुने निर्णय गरेको थियो ।
रास्वपाले आजको संसद बैठक अवरुद्ध पार्ने नबताएपनि योजना भने त्यहि रहेको पार्टि स्रोत बताउँछ । रास्वपाले संसद अवरुद्ध गरेको खण्डमा अन्य प्रतिपक्ष दललेपनि साथ दिने बुझिएको छ ।
यतिसम्मकी गृहमन्त्री लेखकको राजिनामा नआएसम्म संसद नै चल्न नदिने रास्वपाको योजना छ ।
सभापति लामिछानेलाई जेल हालेपछि रुष्ट बनेको रास्वपाले त्यहि रिस साँध्न पनि संसदमा गृहमन्त्रीबिरुद्ध कडारुपमा प्रस्तुत कुने देखिन्छ । जसले गर्दा जेठ १५मा हुने बजेट भाषण प्रभावित हुने देखिन्छ ।
संवैधानिक व्यवस्था अनुसार सरकारले १५ गते बिहिबार बजेट ल्याउनै पर्छ । तर, रास्वपासहितका विपक्ष दलले संसद अवरुद्ध गरे सरकार नै अप्ठेरोमा पर्ने देखिन्छ ।
यता, गहृमन्त्री भने आफूमाथि लागेको आरोपजति कर्मचारीलाई थोपरेर पन्छिने दाउमा छन् ।
चौतर्फी रुपमा भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि गृहमन्त्री लेखकले आफनो बचाउ गर्दै आजको संसद बैठकमा समय लिएर जवाफ दिने बताएका छन् ।
बजेट भाषणकै दिनबाट निर्णायक आन्दोलनको तयारी गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि गृहमन्त्री लेखकको र प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै सदन अवरोध गर्ने बताइसकेका छन् ।