काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।
एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्ष (सरकार)ले अनावश्यक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै फिफाले नेपाल फुटबल संघ (एन्फा)माथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १६ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको जनाइएको छ ।
निलम्बनसँगै एन्फाले फिफाको सदस्य संस्थाका रूपमा प्राप्त गर्ने सबै अधिकार तत्कालका लागि गुमाएको छ। फिफा विधानको धारा १३ अन्तर्गत सदस्य संस्थाले पाउने सुविधा र अधिकारसमेत स्वतः निलम्बनमा परेका छन् ।
फिफाले जारी गरेको निर्णयअनुसार निलम्बन कायम रहेसम्म नेपालका राष्ट्रिय फुटबल टोली तथा एन्फासम्बद्ध कुनै पनि क्लबले फिफा वा एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गत सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।
साथै एन्फाका पदाधिकारी तथा प्रतिनिधिले पनि अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा सहभागिता जनाउन नपाउने भएका छन् । यो निर्णयसँगै नेपाली फुटबलले ठूलो धक्का बेहोरेको छ ।
निलम्बनका कारण राष्ट्रिय टोलीका अन्तर्राष्ट्रिय खेल, क्लबस्तरीय प्रतियोगिता, फिफा र एएफसीका विकास कार्यक्रम तथा विभिन्न प्राविधिक सहयोगसमेत प्रभावित हुनेछन्। नेपाली फुटबल इतिहासमा फिफाले प्रतिबन्ध लगाएको यो पहिलोपटक हो ।
