Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

क्यानडालाई हराउँदै स्विट्जरल्याण्ड समूह विजेता, विश्वकपबाट कतार बाहिरियो

क्यानडालाई हराउँदै स्विट्जरल्याण्ड समूह विजेता, विश्वकपबाट कतार बाहिरियो

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । फिफा विश्वकप फुटबलको समूह चरणअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा क्यानडालाई २–१ ले पराजित गर्दै स्विट्जरल्याण्ड समूह विजेता बनेको छ ।

जितसँगै स्विट्जरल्याण्डले तीन खेलबाट सात अंक जोड्दै समूहको शीर्ष स्थान कब्जा गरेको हो । यसअघि स्विट्जरल्याण्डले कतारसँग १–१ को बराबरी खेलेको थियो भने बोस्निया–हर्जगोभिनालाई ४–१ ले पराजित गरेको थियो ।

निर्णायक खेलमा स्विट्जरल्याण्डलाई जित दिलाउन रुवेन वर्गासले ४६औँ मिनेटमा पहिलो गोल गरे। त्यसपछि ५६औँ मिनेटमा जोआन मुन्जाबिकले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए। क्यानडाका लागि ७५औँ मिनेटमा नाथन सालिभाले एक गोल फर्काए पनि हार टार्न सकेनन्।

क्यानडाले समूह चरणको पहिलो खेलमा बोस्निया–हर्जगोभिनासँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा कतारलाई ६–० ले पराजित गरेको थियो। अन्तिम खेलमा हार बेहोरेपछि क्यानडा चार अंकमै सीमित रह्यो।

यता, अर्को खेलमा बोस्निया–हर्जगोभिनाले कतारलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ। बोस्नियाका लागि २९औँ मिनेटमा केरिम अल्भेगोभिजले गोल गर्दै अग्रता दिलाएका थिए। ३४औँ मिनेटमा कतारका सुल्तान अब्रेकबाट आत्मघाती गोल भएपछि बोस्नियाको अग्रता २–० पुगेको थियो।

कतारका असन अलायोस्ले ४२औँ मिनेटमा एक गोल फर्काए पनि दोस्रो हाफको ८०औँ मिनेटमा इमिन मेमिकले गोल गर्दै बोस्निया–हर्जगोभिनाको ३–१ को जित सुनिश्चित गरे।

समूह चरणमा कतारले पहिलो खेल बराबरी खेले पनि त्यसपछिका दुई खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077