काठमाडौं । फिफा विश्वकप २०२६ मा फ्रान्सले लगातार दोस्रो जित निकाल्दै नकआउट चरण (अन्तिम १६) मा स्थान सुरक्षित गरेको छ। समूह ‘आई’ अन्तर्गत मंगलबार भएको खेलमा इराकलाई ३–० ले पराजित गर्दै फ्रान्स एक खेलअघि नै प्रि–क्वार्टरफाइनलमा पुगेको हो।
फ्रान्सको जितमा कप्तान क्लियन एम्बाप्पे चम्किए। उनले १४औँ र ५४औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई सहज जिततर्फ डोर्याए।
यससँगै एम्बाप्पेले विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याउँदै जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजको कीर्तिमानसँग बराबरी गरेका छन्।
अब उनी अर्जेन्टिनाका महान् स्ट्राइकर लिओन मेस्सीको विश्वकप गोलसंख्यालाई उछिन्ने दूरीमा पुगेका छन्।
खेलको पहिलो हाफपछि अत्यधिक वर्षाका कारण केही समय खेल रोकिएको थियो। मौसममा सुधार आएपछि दोस्रो हाफ ढिलो गरी सुरु गरिएको थियो।
खेल पुनः सुरु भएपछि पनि फ्रान्सले आफ्नो दबाब कायम राख्यो। ६६औँ मिनेटमा ओस्मान डेम्बेलेले गोल थप्दै फ्रान्सको अग्रता ३–० मा पुर्याए र त्यसपछि इराकले खेलमा फर्कने कुनै अवसर बनाउन सकेन।
यसअघि पहिलो खेलमा सेनेगललाई ३–१ ले पराजित गरेको फ्रान्सले इराकविरुद्ध पनि प्रभावशाली प्रदर्शन दोहोर्यायो। लगातार दुई जितसँगै ६ अंक जोडेको फ्रान्स समूह ‘आई’ को शीर्षस्थानमा उक्लिएको छ र नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ।
उता लगातार दोस्रो हार बेहोरेको इराक भने समूह चरणबाटै बाहिरिने जोखिममा पुगेको छ।