भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा सामान्य विवादका क्रममा भएको झगडा चक्कु प्रहारमा परिणत हुँदा एक युवकको मृत्यु भएको छ ।
गएराति करिब १० बजे भएको घटनामा महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोडमा बस्दै आएका २८ वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते अवस्थामा रहेका रसाइलीलाई तत्काल उपचारका लागि केएमसी अस्पताल, सिनामंगल लगिएको थियो । उपचारकै क्रममा आज बिहान ६ः१५ बजे उनको मृत्यु भएको हो ।
घटनापछि प्रहरीले चक्कु प्रहारमा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१३ का ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ का २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घासका ३५ वर्षीय रमेश कुँवर रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।