काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीतका गतिविधि तथा सामग्री सम्प्रेषण बढ्दै गएको भन्दै सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
सोमबार जारी विज्ञप्तिमार्फत काउन्सिलले पत्रकारिता पेशागत आचारसंहिता भित्र रहेर जिम्मेवार ढंगले सामग्री सम्प्रेषण गर्न सबै पक्षलाई आग्रह गरेको हो।
काउन्सिलका अनुसार पछिल्लो समय केही सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट आचारण र मर्यादा विपरीतका गतिविधि बढ्दै गएको देखिएको छ, जसले पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
विशेषगरी अनलाइन पोर्टल दर्ता गरे पनि समाचार प्रकाशन नगरी युट्युब, फेसबुक र रिलमार्फत भ्युज तथा मोनिटाइजेसनका लागि तथ्यहीन, झैझगडा र गालीगलौजपूर्ण सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति बढ्दै गएको काउन्सिलले जनाएको छ।
त्यस्तै, बिनाअनुमति तथा पत्रकार परिचयपत्रबिना विभिन्न कार्यालय, शैक्षिक संस्था वा कार्यक्रममा प्रवेश गरी अमर्यादित व्यवहार गर्ने, विवाद सिर्जना गर्ने तथा हातपातसम्मका घटनाका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति पनि बढेको उल्लेख गरिएको छ।
यस्ता गैरजिम्मेवार गतिविधिले समग्र पत्रकारिता क्षेत्रको गरिमा, विश्वसनीयता र पेशागत मर्यादामा गम्भीर नकारात्मक असर पारिरहेको भन्दै काउन्सिलले कडा चेतावनी दिएको छ।
