काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन–प्रसारण नगर्न सञ्चारमाध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ।
काउन्सिलले बिहीबार जारी गरेको ध्यानाकर्षण पत्रमार्फत प्रेस स्वतन्त्रता कायम राख्दै जिम्मेवार, विश्वसनीय र आचारसंहिताअनुरूप पत्रकारिता प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको हो।
काउन्सिलका अनुसार पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत अपुष्ट तथा भ्रामक सामग्री सम्प्रेषण हुने प्रवृत्ति बढ्दै गएको छ। यसले पत्रकारिताको विश्वसनीयतामा असर पार्नुका साथै व्यक्ति तथा संस्थाको प्रतिष्ठामा समेत नकारात्मक प्रभाव पारेको उल्लेख गरिएको छ।
ध्यानाकर्षण सूचनामा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीबारे उजुरी र जनगुनासो बढ्दै गएको जनाउँदै ती उजुरीमाथि आचारसंहिताबमोजिम अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ।
काउन्सिलले सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिता नै लोकतन्त्रको आधार भएको उल्लेख गर्दै कुनै पनि सामग्री प्रकाशन वा प्रसारणअघि त्यसको सत्यता र विश्वसनीयता परीक्षण गर्न अनिवार्य रहेको स्पष्ट पारेको छ।
साथै, सामाजिक सञ्जालमार्फत गालीगलौज, धम्की र मानहानी गर्ने प्रवृत्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत हुने भन्दै यस्ता गतिविधि रोक्न आग्रह गरिएको छ।
युटुव र फेसबुकजस्ता डिजिटल माध्यममार्फत अपुष्ट सामग्री फैलाउने तथा अतिरञ्जित प्रस्तुति गर्ने प्रवृत्तिप्रति पनि काउन्सिलले गम्भीर ध्यानाकर्षण गराएको छ। यस्ता कार्य पत्रकार आचारसंहिता विपरीत हुने जनाउँदै आवश्यक परे कडा कारबाही गरिने चेतावनी दिएको छ।
काउन्सिलले गलत सामग्रीबाट प्रभावित व्यक्ति वा संस्थाले उजुरी दिन सक्ने व्यवस्था रहेको जानकारी गराउँदै सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र मर्यादित पत्रकारिता अभ्यास गर्न आग्रह गरेको छ।