काठमाडौं । ब्राजिलले स्कटल्याण्डलाई ३–० ले पराजित गर्दै समूह ‘सी’ को विजेताका रूपमा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
समूह चरणको अन्तिम खेलमा ब्राजिलले सुरुआतदेखि नै आक्रामक प्रदर्शन गर्दै सहज जित निकाल्यो। ब्राजिलका लागि भिनिसियस जुनियरले खेलको ६औँ र २१औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए। त्यसपछि ६०औँ मिनेटमा म्याथियस कुन्हाले गोल थपेपछि ब्राजिल ३–० को सहज विजेता बन्यो।
तीन खेलबाट दुई जित र एक बराबरी खेलेको ब्राजिलले सात अंक जोड्दै समूहको शीर्षस्थान कब्जा गर्यो। ब्राजिल पहिलो खेलमा मोरोक्कोसँग १–१ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा हाइटीलाई ३–० ले हराएको थियो।
यता, अर्को खेलमा मोरोक्कोले हाइटीलाई ४–२ ले पराजित गर्दै चार अंकसहित समूह उपविजेता बनेर अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।
खेलको १०औँ मिनेटमा लियोन जोसेफको गोलबाट हाइटीले अग्रता लिए पनि २९औँ मिनेटमा अचरफ हाकिमीले बराबरी गोल फर्काए।
४३औँ मिनेटमा विल्सन इडिसरले फेरि हाइटीलाई अघि बढाए तर त्यसको दुई मिनेटमै इस्माइल साइबारीले गोल गर्दै पहिलो हाफ २–२ को बराबरीमा टुंग्याए।
दोस्रो हाफमा मोरोक्कोले खेलमाथि पूर्ण नियन्त्रण जमायो। ७८औँ मिनेटमा सोफियान रहुनीले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने इन्जुरी समयमा यासिन जेसिनले अर्को गोल थप्दै ४–२ को जित सुनिश्चित गरे।
मोरोक्कोले यसअघि ब्राजिलसँग १–१ को बराबरी खेलेको थियो भने स्कटल्याण्डलाई १–० ले हराएको थियो।
ब्राजिलसँगको हारपछि स्कटल्याण्ड तीन अंकमै सीमित रहँदै तेस्रो स्थानमा रह्यो र प्रतियोगिताबाट बाहिरियो। लगातार तीन खेल गुमाएको हाइटी भने अंकविहीन रहँदै विश्वकप यात्रा टुंग्याउन बाध्य भयो। ५२ वर्षपछि विश्वकपमा फर्किएको हाइटीले प्रतियोगिताभर दुई गोल मात्र गर्न सफल भयो।