काठमाडौं । कप्तान क्रिष्टियानो रोनाल्डोले दुई गोलसहित एकपछि अर्को कीर्तिमान बनाउँदा पोर्चुगलले विश्वकप समूह चरणको दोस्रो खेलमा उज्वेकिस्तानलाई ५–० ले पराजित गरेको छ ।
रोनाल्डोले खेलको छैटौँ मिनेटमै जोआओ क्यान्सिलोको उत्कृष्ट क्रसलाई गोलमा परिणत गर्दै पोर्चुगललाई अग्रता दिलाए । १६औँ मिनेटमा नुनो मेन्डिजले दोस्रो गोल थपे भने ३९औँ मिनेटमा ब्रुनो फर्नान्डिजको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।
उज्वेकिस्तानले २८औँ मिनेटमा अब्दुलाह अब्दुलेभमार्फत गोल गरे पनि भीएआरले त्यसअघि फाउल भएको पुष्टि गरेपछि गोलले मान्यता पाएन।
खेलको अन्त्यतिर उज्वेकिस्तानका अब्दुलोभ खुसानोभबाट आत्मघाती गोल भयो भने ८७औँ मिनेटमा राफेल लिओले गोल गर्दै पोर्चुगलको शानदार जित सुनिश्चित गरे।
यो खेल रोनाल्डोका लागि विशेष रूपमा ऐतिहासिक बन्यो। पहिलो खेलमा गोल गर्न नसकेका उनले उज्वेकिस्तानविरुद्ध दुई गोल गर्दै सन् २००६ यता विश्वकपका लगातार छैटै संस्करणमा गोल गर्ने पहिलो खेलाडी बन्न सफल भए।
यस्तै, उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १० पुर्याउँदै पोर्चुगलका महान् स्ट्राइकर ओसिबियोको ६० वर्ष पुरानो कीर्तिमान पनि तोडे।
ओसिबियोले सन् १९६६ को विश्वकपमा ९ गोल गरेका थिए, जुन रेकर्ड अहिलेसम्म कसैले पार गर्न सकेको थिएन। रोनाल्डो अब विश्वकपमा पोर्चुगलका सर्वाधिक गोलकर्ता बनेका छन्।
यससँगै उनी विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडीको सूचीमा पनि उक्लिएका छन्। यो जितसँगै पोर्चुगलले दुई खेलबाट चार अंक जोडेको छ। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग बराबरी खेलेको थियो ।