काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीका क्रममा सेवाग्राहीसँग हात मिलाउने अभ्यास अन्त्य गर्दै ‘नमस्ते’ संस्कृतिलाई अनिवार्य बनाउन मातहतका सबै ट्राफिक प्रहरी इकाइलाई निर्देशन जारी गरेको छ ।
कार्यालयले ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग, पोस्टलगायत सबै मातहतका निकायमा सर्कुलर पठाउँदै ड्युटीका बेला सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाई टाढैबाट नमस्ते गरेर सम्मान व्यक्त गर्न निर्देशन दिएको हो ।
सेवाग्राहीसँग हात मिलाउनुभन्दा नमस्ते गर्नु नेपाली संस्कृति र व्यावसायिक आचरणका दृष्टिले उपयुक्त भएकाले यस्तो निर्णय गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जारी सर्कुलरमा कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीका क्रममा सवारी चालक वा अन्य सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्ण रूपमा त्याग्नुपर्ने उल्लेख गरिएको छ। त्यसको सट्टा टाढैबाट नमस्कार गर्दै सम्मान प्रकट गर्न भनिएको छ।
कार्यालयका अनुसार यो व्यवस्था उपत्यकाभर कार्यरत सबै ट्राफिक प्रहरी कर्मचारीमा लागू हुनेछ।