काठमाडौं । सभामुख देवराज घिमिरले सत्ता र प्रतिपक्षी दलबीच गरेको सहमतिको प्रयास असफल भएपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो ।
गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले आजको बैठक अवरुद्ध गरेका थिए ।
संसद अवरुद्ध भएपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेर छलफल आयोजना गरेका थिए । तर, उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी बैठकमा सबै दल आ–आफ्नो अडानमा कायम रहेकाले सहमति जुट्न नसकेपछि भोलीसम्मका लागि बैठक नै स्थागित गरिएको हो ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले सदनमा उपस्थित भएका गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिन पाउनु पर्ने अडान राखेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र तथा राष्ट्रिय स्वतन्त्र पार्टी भने गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिएपछि सहमति जुट्न नसकेको हो ।