काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सङ्घीय संसद् चल्न नदिने अडान कायमै राखेको बताएका छन् ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा विपक्षी राजनीतिक दलका प्रमुख सचेतकहरूले आफूहरूले उठाएका विषय सम्बोधन नहुँदासम्म सदन चल्न नदिने बताएका हुन्
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखसँगको बैठकमा आफूहरुले माग पूरा नहुँदासम्म सदन चल्न नदिने बताएको जानकारी दिए ।
उनले भने–‘खासगरी सदनको क्यालेन्डर बनाउने विषयमा बैठक थियो । हामीले हाम्रो मुख्य माग सम्बोधन नहुँदासम्म सदनका क्रियाकलाप अगाडि बढाउन नदिने विषय राख्यौँ । सम्बोधन गर्ने विषय सरकारको भयो ।’
आफूहरु अडानबाट पछि नहटेको बताउँदै उनले देश, जनता र संविधानविरोधी गतिविधिलाई मध्यनजर गरेर हामीले हिजो अवरोध हटाएको बताए ।
उनले भने–‘देश, जनता र संविधानविरोधी गतिविधिलाई मध्यनजर गरेर हामीले हिजो अवरोध हटाएका हौं । हाम्रो अडान कायमै छ । यो मानव तस्करी र भ्रष्टाचारसँग सम्बन्धित छ । करेक्सन नगरी हामी अडानबाट ब्याक हुँदैनौं भनेका छौं । यो विषय सदनमा उठाउँछौं । अब बाँकी काम सरकार हो ।’
यता, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने धारणा राखेको बताए ।
काम गर्न बाहिर गएका आम नागरिकहरूलाई दुःख दिने, मानव तस्करसँगसम्म जोडिएको घटनामा सरकार गम्भीर नभएकोप्रति आपत्ति जनाउँदै उनले भने–‘उहाँहरूले केही भएको छैन भन्दै नियमित प्रक्रियाबाट जान खोज्दै हुनुहुन्छ । हामीले आफ्नो कुरा राखेका छौं । हिजो जिम्मेवारीबोध गरेर छाडेका हौं । रास्वपासहित सबै विपक्षी दल आन्दोलनमा छौं । आन्दोलनको माग सम्बोधन नभएसम्म हामी सदन अगाडि बढाउन सक्दैनौँ ।’
उनले गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन आयोगको मागबाट आफूहरू पछि नहटेको बताए ।
यता, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने सदनको अवरोधको विषयमा औपचारिक कुराकानी नभएको बताए ।
उनले भने–‘संसद्को क्यालेन्डर बनाउने विषयमा छलफल थियो । सदनको अवरोधबारे अनौपचारिक विषयमा कुरा उठे पनि औपचारिक छलफल भएन, ।’