काठमाडौँ । नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको टिप्पणी गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । बजेट वक्तव्यमार्फत सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ भनेर सरकारले आयोजनाको घाँटी छिनालेको उनले आरोप लगाए ।
उनले लेखेका छन्– 'अन्ततः राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको छ। २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरवार चलाएर घाँटी रेट्न सुरु गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२-०८३ को बजेट–वक्तव्य (बुँदा २२४) मार्फत कथित 'सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ' भनेर पूरै घाँटी छिनालेको छ।'
'देशको बहुआयामिक आर्थिक रूपान्तरणका लागि गेमचेन्जर आयोजनाको रूपमा यसको प्रमुख परिकल्पनाकार र पहलकर्ताको नाताले म यो सरासर वदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णयको घोर भर्त्सना र विरोध गर्दछ,' उनले भनेका छन् ।
डा. भट्टराईले थप भनेका छन्– 'भविष्यको उज्ज्वल सपनाको खातिर आफ्नो पुस्तौँदेखिको सम्पत्ति र थातथलो सहज हस्तान्तरण गरेर यो आयोजना कार्यान्वयनका लागि पूर्ण सहयोग गर्दै आउनुभएका गोरखा र धादिङको प्रभावित क्षेत्रका जनताप्रति पूर्ण सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दछु।'
उनले राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णयको सशक्त प्रतिवाद गर्न प्रभावित क्षेत्रका जनता र सबै सचेत नागरिकहरूसंग हार्दिक अपील गरे ।