काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माओवादीले छेपारो झैँ रङ फेरेको आरोप लगाएका छन् ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राप्रपा माओवादीसँग सहकार्य गरेर संसद्का काम कारबाहीमा अघि नबढ्ने समेत बताए ।
गृहमन्त्री रमेश लेखकले संसदमा धम्कीपूर्ण रूपमा प्रस्तुत भएको बताउँदै उनले सभामुखसँगको छलफलपछि भिजिट भिसा प्रकरणमा छानविन समिति नबन्दासम्म संसद् अवरोध जारी राख्ने बताए ।
शुक्रबार सम्बोधनका क्रममा गृहमनत्री लेखक धम्कीपूर्ण रूपमा प्रस्तुत भएको उनको भनाई थियो ।
गृहमन्त्री लेखकसँगसँगै यसअघिका गृहमन्त्री पनि छानबिनको दायरामा आउनुपर्ने बताउँदै उनले भने, ‘गृहमन्त्रीजी धम्कीपूर्ण भाषामा प्रस्तुत हुनुभयो। हामी मानव बेचबिखनको अनुसन्धान चाहन्छौँ। यसको विरुद्धमा छानबिन समिति बन्नुपर्छ। छानबिन समिति नबन्दासम्म विरोधका कार्यक्रम जारी राख्छौँ ।’
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद अवरोध गर्दै आएको माओवादी दुई बुँदे सहमती गर्दै सत्तापक्षसँग मिलेपछि राप्रपा र रास्वपाले भने संसद अवरोध कायमै राखेका छन् ।
यद्यपी, दुई दलका विरोधका वावजुद संसद भने सञ्भालन भइरहेको छ ।