चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।
जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ । ९ गते नै महाधिवेशन सक्ने भनिए पनि प्राविधिक समस्याका कारण प्रतिनिधि टुंगो लगाउन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको हो ।
पहिलो चरणको मतदान सभापति र केन्द्रीय सदस्यका लागि हुने तय थियो।
सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन् भने वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहलाई बनाउने तयारी छ।
अब ९९ केन्द्रीय सदस्यका लागि विद्युतीय मेसिनमा भोटिङ हुनेछ। महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको उम्मेदवारको ‘स्क्रिनिङ’ जारी छ।
महाधिवशेनमा ९९ केन्द्रीय सदस्यका लागि ३७० भन्दा बढीको उम्मेदवारी परेको छ। केन्द्रीय सदस्य निर्वाचन सकिएपछि पदाधिकारीका लागि निर्वाचन हुनेछ।