काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला तर्फ) पदका लागि सांसद राजु पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्तापछि समाजिक सञ्जालमार्फत उनले आफू पदभन्दा जिम्मेवारी, नाराभन्दा कर्म र व्यक्तिगत स्वार्थभन्दा संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्ने व्यक्ति भएको बताएका हुन् ।
पाण्डेले रास्वपा सभापति रवि लामिछानेले अघि सारेको सुशासन, जवाफदेहिता र परिवर्तनको मार्ग तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले देखाएको परिणाममुखी कार्यशैलीबाट आफू प्रेरित भएको उल्लेख गरेका छन्।
उनले पार्टी नेतृत्वको मार्गदर्शनमा देश, जनता र संगठनलाई केन्द्रमा राखेर इमानदारी, निष्ठा र उत्तरदायित्वसहित भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
उनको वक्तव्यमा संगठन सुदृढीकरण, आन्तरिक एकता, संस्थागत विकास र परिणाममुखी राजनीतिलाई प्रमुख प्राथमिकतामा राखेर निरन्तर सक्रिय रहने उल्लेख छ। साथै, प्रतिनिधिहरूको विश्वास, साथ र समर्थनका लागि उनले अपिलसमेत गरेका छन्।