Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस उपसभापति धनराज जोडिएको मितेरी सहकारी ठगीमा मुछिएका भण्डारी कम्बोडियामा पक्राउ

कांग्रेस उपसभापति धनराज जोडिएको मितेरी सहकारी ठगीमा मुछिएका भण्डारी कम्बोडियामा पक्राउ

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसमेत मुछिएको मितेरी सहकारी ठगी प्रकरणमा जोडिएर फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडिया प्रहरीले नियन्त्रणमा लिएको छ ।

भण्डारी कम्बोडियामा नियन्त्रणमा रहेको पुष्टि गर्दै उनलाई नेपाल ल्याउने प्रकृया अगाडि बढाइएको प्रहरी हेडक्वार्टर स्रोतले बताएको छ ।

भण्डारी सहकारीको सदस्य नभएपनि उनलाई ऋण प्रवाह गरेको भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

भण्डारीविरुद्ध यसअघि नै प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)मार्फत डिफ्युजन नोटिस जारी भएको थियो । त्यति हुँदा पनि उनी पक्राउ नपरेपछि रेड नोटिसका लागि पत्राचार गरिएको थियो ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले २०८१ को कात्तिकमा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नाम समेत जोडिँदै आएको छ । उनको नाम जोडिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुई पटक धनराजलाई कार्यालयमै बोलाएर केरकार समेत गरेको थियो ।

फागुन २०७७ मा सहकारीको ऋण लिएको समयको एउटा कागजमा धनराजले हकवाला भनेर ज्योति गुरुङको नाम राखेका थिए । जबकि उनको २९ फागुन २०७६ मा डिभोर्स भएको थियो । उनको डिभोर्स समेत कागजीमात्रै रहेको आरोप लाग्दै आएको छ ।

ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानमा कार्यालय रहेको यो सहकारीका बारेमा पछिल्लो पटक गत पुस २४ मा सीआईबीले करिब ५ घण्टा धनराजसँग केरकार गरेको थियो ।

भण्डारीसँगै रेड नोटिस जारी भएका कांग्रेस उपसभापति धनराजकी पूर्वपत्नी ज्योति गुरुङ भने अझै फरार नै छिन् ।

बेलायती र भारतीय सेनामा काम गरेका पूर्वसैनिकहरू मिलेर मितेरी सहकारी खोलेका थिए । सहकारीको साढे १२ करोड हिनामिना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077