काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले संसद्को कामकारबाहीप्रति गम्भीर आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले भने–‘सभामुख महोदय, आजको विषय गम्भीर छ । अब अलि चर्को कुरा गरौं भने सत्तामा बस्ने साथीहरूलाई घोचपेच गरे जस्तो हुने । कुरा जस्तो कुरा गरौं भने चित्त फाट्ने । नाच जस्तो नाच गरौं भने घाँघर फाट्ने भन्थ्यो रे एउटाले, त्यस्तै स्थिति छ ।
युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल चलिरहँदा नेपालमा युवाहरूको स्थिति कस्तो छ ? भनेर प्रष्ट हुन आवश्यक रहेको उनले बताए । युवाहरूलाई के पढाइएको छ, के सिकाइएको छ त्यो ख्याल गर्न आवश्यक रहेको बताए ।
अहिलेको शिक्षाले विदेश जाने जनशक्ति उत्पादन भइराखेको उनले बताए । आफूहरूले पढ्दा राम्रो नपढे शिक्षक समेत बन्न नसक्ने भन्ने गरिएको तर, अहिले जुन देशमा जाने हो त्यो देशबारे सिकाउने कार्य शैक्षिक क्षेत्रबाट भइराखेको उनले बताए ।
युवाले नेपाली नजान्ने र अंग्रेजी ज्यादा जान्ने प्रवृत्ति यसको उदाहरण भएको उनले बताए । निजी स्कुलमा नेपाली बोल्न नपाइने अवस्था रहेको स्मरण गर्दै उनले शिक्षा प्रणालीले नेपालको भूमि अनुसारको जनशक्ति उत्पादन नभइराखेको बताए । यसको दोष राज्य सञ्चालन गर्नेहरू रहेको बताए ।