Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

बीवाईडीको समाचार लेख्दा बिजनेश न्युजलाई समाचार हटाउन अदालतले आदेश दिएकोप्रति तीन संस्थाले गरे गम्भीर ध्यानाकर्षण

बीवाईडीको समाचार लेख्दा बिजनेश न्युजलाई समाचार हटाउन अदालतले आदेश दिएकोप्रति तीन संस्थाले गरे गम्भीर ध्यानाकर्षण

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । विद्युतीय सवारीसाधन ब्रान्ड बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिसम्बन्धी समाचार हटाउन र पुनः प्रकाशन–प्रसारण नगर्न जिल्ला अदालत काठमाडौंले दिएको अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघसहित तीन प्रमुख संस्थाले गम्भीर आपत्ति जनाएका छन् ।

पत्रकार महासंघ, नेपाल प्रेस युनियन र अनलाइन पत्रकार संघले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै अदालतको आदेशले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र स्वतन्त्र पत्रकारितामाथि असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

महासंघले अदालतले बिजनेसन्युज डटकममा प्रकाशित समाचार सामग्री हटाउन र थप सम्प्रेषण हुन नदिन दिएको आदेश पत्रकार आचारसंहिता–२०७३ को अनलाइन माध्यमबाट प्रकाशित समाचार सकेसम्म नहटाउनुपर्ने व्यवस्थासँग मेल नखाने जनाएको छ। 

समाचारको सत्यता परीक्षण नै नगरी हटाउन आदेश दिनु स्वतन्त्र पत्रकारितामाथिको प्रहार भएको र यसले प्रमाण नष्ट हुने जोखिम समेत बढाउने महासंघको दाबी छ।

यस्तै, नेपाल प्रेस युनियनले विचाराधीन मुद्दाको अन्तिम किनारा नलाग्दै समाचार हटाउन आदेश दिनु न्यायिक प्रक्रियाको आधारभूत मान्यताविपरीत भएको उल्लेख गरेको छ।

समाचारप्रति असहमति भए खण्डन, स्पष्टीकरण वा कानुनी उपचारका अन्य उपाय अवलम्बन गर्न सकिने लोकतान्त्रिक अभ्यास रहेको युनियनको भनाइ छ।

त्यसैगरी, अनलाइन पत्रकार संघले अदालतको आदेशलाई ‘प्रमाण नष्ट गर्ने प्रकृतिको’ भन्दै आपत्ति जनाएको छ।

संघले अदालतको आदेशले पत्रकार आचारसंहिताको व्यवस्थामाथि असर पुगेको दाबी गर्दै विगतका यस्तै आदेशहरू अन्ततः खारेज भएको नजिरसमेत स्मरण गराएको छ।

तीनवटै संस्थाले अदालतको सम्मान गर्दै अन्तिम फैसलाको पालना गर्नुपर्नेमा जोड दिएका छन्। साथै, संविधान र कानुनको परिधिभित्र रहेर प्रेस स्वतन्त्रताको संरक्षण हुनुपर्ने अपेक्षा उनीहरूले व्यक्त गरेका छन्।

gfhg9.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077