काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार किशोर श्रेष्ठमाथि भएको भनिएको प्रहरी निगरानी, धरपकडको प्रयास र धम्कीप्रति गम्भीर आपत्ति जनाएको छ ।
महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस घटनालाई स्वतन्त्र प्रेस र लोकतान्त्रिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप भनेको हो ।
महासंघका अनुसार जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री तथा सत्तारूढ दलका नेताविरुद्ध आलोचनात्मक सामग्री प्रकाशित भएपछि प्रधानसम्पादक किशोर श्रेष्ठमाथि दबाब बढाइएको हो ।
समाचार लेखेकै आधारमा पत्रकारलाई निगरानीमा राख्ने, धम्क्याउने तथा स्रोत खुलाउन दबाब दिने कार्य प्रेस स्वतन्त्रताविरुद्धको गम्भीर कदम भएको महासंघको भनाइ छ ।
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूमाथि धरपकडको प्रयास, निगरानी र धम्की भइरहेको जानकारी महासंघलाई गराएको विज्ञप्तिमा उल्लेख छ ।
महासंघले असहमति वा विमति भए कानुनी र संस्थागत प्रक्रियामार्फत समाधान खोज्नुपर्ने बताउँदै समाचारप्रति आपत्ति भए प्रेस काउन्सिल नेपालमार्फत जाने बाटो खुला रहेको स्पष्ट पारेको छ ।
साथै, पत्रकारलाई धम्क्याउने र दबाब दिने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सरकारसँग महासंघले माग गरेको छ । महासंघले प्रेसमाथिको कुनै पनि हस्तक्षेप लोकतन्त्रका लागि घातक हुने चेतावनीसमेत दिएको छ ।