काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तल्लो तहमा रहेका न्यून आय भएका नागरिकलाई समृद्ध बनाउने अभियानमा क्रियाशील रहेको बताएका छन् ।
कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले आयोजना गरेको बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टी सञ्चालन प्रणाली सम्बन्धमा लेबर पार्टीका नेता डा. बच्चु कैलाश कैनीसँगको अन्तरक्रियामा मन्तव्य राख्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले कांग्रेसले पक्षपोषण गर्ने भनेको तल्लो तहका नागरिकहरुको जीवनस्तर उकास्न भएको बताए । 'हामीले खोजेको भनेको समुन्नत नेपाल हो, हामी पूँजीवादी अर्थ व्यवस्थामा विश्वास गर्छौ, नाफालाई अपराध मान्दैनौँ, तल्लो तहमा रहेका नागरिकहरुलाई माथि उकास्न चाहन्छौँ, हामीले चाहेको व्यवस्थित प्रणालीमा कसैले पासपोर्ट र लाइसेन्स पाउन राजनीतिक दलको सदस्य हुनुपर्दैन, नेपाली नागरिकले खोजेको कुरा यही हो, यसका लागि व्यवस्थित प्रणाली आवश्यक छ', उनले भने ।
महामन्त्री थापाले उदारवादी पार्टी भए पनि बेलायतमा लेबर पार्टी दबाबमा रहेको भन्दै नेपालले सिक्नुपर्ने कुरा बेलायतको व्यवस्थित प्रणाली र व्यवस्थापनको विषय हो भने ।
'हामीले अनुशरण गरेको प्रणाली भनेको बेलायती संसदीय प्रणाली हो, संसदीय प्रणालीमा हाम्रो ठूलो विश्वास छ, लेबर पार्टीबाट सिक्ने कुरा धेरै छ', उनले भने ।
उनले लेभव पार्टीसँग नेपाली कांग्रेसको भगिनी सम्बन्ध रहेको बताउँदै पुराना पार्टीहरु संकटमा भएको अवस्थामा वेलायतमा लेबर पार्टी पनि संकटमा छ भन्ने देखिएको बताए ।
सन् १९९५ मा लेबर पार्टीले बेलायतमा निजी सम्पत्तिको विषय र उदारवादी विषयका कुरामा उत्साहित हुँदै गर्दा हामीले पनि त्यहीँ उठाएका थियौँ भन्दै उनले भने 'बेलायतको लेबर पार्टीले तीन वटा निर्वाचन जितेर आफ्नो धार कायम गरेको छ। हामीले पनि २०४८ सालमा जितेपछि उदारवादी नीति ल्याएकै हो, ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ र सडकका क्षेत्रमा पर्याप्त बजेट गएकै हो' उनले भने ।
बेलायतको लेबर पार्टीका नेता डा. बच्चु कैलाश कैनीले आफू सन् २०१२ मा लेबर पार्टीसँग जोडिएको बताउँदै नेपाली कांग्रेस र नेपालमा पनि लेबर पार्टीमा भएका राम्रो कामहरु लागू होस् भन्ने आफूले चाहेको बताए ।
नेता कैनीका अनुसार बेलायतमा पनि योग्य व्यक्तिलाई नै सरकारको नेतृत्व दिनुपर्छ भन्ने आधारमा चुनाव अगाडि नै प्रधानमन्त्रीको उम्मेदवार चयन हुने गरेको छ।
सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख अजयबाबु शिवाकोटीले बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टीको त्यहाँको अभ्यास र अनुभवले नेपाली कांग्रेसलाई मात्र नभइ नेपालको समग्र लोकतान्त्रिक आन्दोलनलाई झक्झक्याउने विश्वास व्यक्त गरे ।