काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई समर्थन फिर्ता लिएको घोषणा गरेका छन्।
मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको समेत बताए ।
सरकार जनताको पक्षमा नभइ बिचौलियाको लागि बनेकाले समर्थन कायम राख्नु संविधान,संघीयता र जनतासँग गद्दारी हुने उनले बताए ।
उनले सत्तारुढ एमाले–कांग्रेस गठबन्धनको तीव्र आलोचना गर्दै सरकारलाई दिएको समर्थनबाट पछुताउनु परेको भन्दै अध्यक्ष यादवले वर्तमान सत्ता गठबन्धनले जनताको कुनै चासो नराखी केवल सत्तामा टिकिरहने खेल खेलिरहेको आरोप लगाए ।
सरकारको सम्पूर्ण ध्यान सत्ता जोगाउने, पद बाँड्ने, प्रशासन हल्लाउने र जनताको नाममा बजेट बेच्ने काममा लागेको उनले बताए ।
उनले वर्तमान सत्ता गठबन्धन पूर्णरुपमा असफल भइसकेको दावि गरे ।