काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिका शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न ठूला भ्रष्टाचार काण्डमा संलग्न भएको आरोप लगाएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले यस्तो आरोप लगाएका हुन् ।
भिजिट भिसा प्रकरणमा देखिएको ‘छलकपटपूर्ण हर्कत’लाई उदाहरण दिँदै उनले यी नेताहरूलाई “ती ठूला टाउका” को संज्ञा दिएका छन् ।
उनले एनसेल, बूढीगण्डकी, साठी किलो सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु चिनी प्रकरण लगायतका सबै ठूला भ्रष्टाचार काण्डहरूमा देउवा, ओली र दाहालको संलग्नता रहेको आशंका व्यक्त गरे ।
“अब भिजिट भिसा प्रकरण मात्र हैन, सबै ठूला भ्रष्टाचार काण्डहरूको शक्तिशाली, उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष संयन्त्रमार्फत छानबिन गरिनुपर्छ,” भट्टराईले भनेका छन्, “दोषीलाई हदैसम्मको कारबाही गरिनुपर्छ।”
सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा सात सदस्यीय समिति गठन गरे पनि उक्त समिति पक्षपाती र कमजोर भएको भन्दै चौतर्फी विरोध भइरहेको छ।