काठमाडौं । मुलुकभर रहेको ७५३ वटा स्थानीयतहमध्ये ३९ वटा स्थानीय तहले समयमै बजेट ल्याउन सकेनन् ।
७१४ वटा स्थानीय तहले तोकिएको समय असार १० (मंगलबार) भित्र आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् ।
नेपालमा ६ वटा महानगरपालिका, ११ वटा उप–महानगरपालिका, २७६ नगरपालिका, र ४६० गाउँपालिका गरेर ७५३ वटा स्थानीय तह रहेका छन् ।
जसमध्ये पाँच वटा महानगरपालिकाले तोकिएकै समयसीमाभित्र बजेट सार्वजनिक गरेका छन्। पोखरा महानगरपालिकाले आइतबार ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको हो। सोही दिन भरतपुर महानगरपालिकाले पनि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारको बजेट सार्वजनिक गर्यो।
वीरगन्ज महानगरपालिकाले सोमबार ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ। त्यसैगरी मंगलबार विराटनगर महानगरपालिकाले ४ अर्ब ४० लाखबराबरको र ललितपुर महानगरपालिकाले ७ अर्ब ४६ करोड ८३ लाखबराबरको बजेट सार्वजनिक गरेको छ
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको असमझदारीका कारण महानगरले यसपालि समयमै बजेट ल्याउन सकेन।
कानूनी व्यवस्थाअनुसार असार १० गते भित्र अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने हुन्छ । तर, देशभरका ३९ वटा पालिकाहरूले बजेट ल्याउन सकेका छैनन्। २ सय ९३ वटा महानगर, उपमहानगर र नगरपालिकामध्ये २ सय ६९ वटाले बजेट ल्याएका छन्।
नेपाल नगरपालिका संघका अनुसार महानगर र उपमहानगरसहित २४ वटा नगरपालिकाले बजेट ल्याएनन्।
बजेट ल्याउन नसक्नेमा सबैभन्दा धेरै मधेसका नगरपालिका छन्। त्यहाँका ७७ नगरपालिकामध्ये १६ वटाले बजेट पेस गरेनन्। बागमती प्रदेशका ४, लुम्बिनीका २ र कोशी तथा कर्णाली प्रदेशका १÷१ वटा नगरपालिकाले बजेट ल्याउन सकेनन्।
हंसपुर नगरपालिका, डाक्नेश्वरी नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, सुरुंगा नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, जलेश्वर नगरपालिका, औरही नगरपालिका, देवाही गोनाही नगरपालिका, वृन्दावन नगरपालिका, फतुवा विजयपुर नगरपालिका, निजगढ नगरपालिका, विदुर नगरपालिका, पनौती नगरपालिका, राप्ती नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थ नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाले असार १० भित्र बजेट ल्याएनन्।
गण्डकी र सुदूरपश्चिम प्रदेशका सबै नगरपालिकाले बजेट पेस गरेको संघले जनाएको छ।
त्यस्तै, ४ सय ६० गाउँपालिकाहरूमध्ये ४ सय ४५ वटाले बजेट पेस गरेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ।
महासंघका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका गाउँपालिकाहरूले मात्र शतप्रतिशत बजेट पेस गरेका छन्। कोशीका ८८ र सुदूरपश्चिमका ५४ वटै गाउँपालिकाहरूले मंगलबार बजेट ल्याएका छन्।
मधेस प्रदेशका ५९ मध्ये ५०, बागमतीका ७४ मध्ये ७३, गण्डकीका ५८ मध्ये ५६, लुम्बिनीका ७३ मध्ये ७१ र कर्णालीका ५४ मध्ये ५३ वटा गाउँपालिकाहरूले बजेट पेस गरे।