Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संघीय प्रहरी ऐन सम्बन्धी विधेयक अधिकतम परिमार्जनसहित पारित गरौं : प्रचण्ड

संघीय प्रहरी ऐन सम्बन्धी विधेयक अधिकतम परिमार्जनसहित पारित गरौं : प्रचण्ड

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महत्वपूर्ण विधेयक सदनबाट पारित हुन भनेर आफू सरकारसँग केही लचिलो भएको बताएका छन् ।

संघीय निजामति, विद्यालय शिक्षा, नागरिकता संशोधन, संघीय प्रहरी जस्ता ऐन अत्यावश्यक भइसकेकाले त्यतिकै टारिने त होइन भन्ने लागेर पनि सरकारसँग लचिलो भएको उनको भनाई थियो ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको सैद्वान्तिक छलफलमा भाग लिँदै प्रचण्डले समझदारीको पछाडि महत्वपूर्ण विधेयकहरू पारित गर्ने सोच रहेको बताएका हुन् ।

बैठकमा उनले भने–‘सरकारसँग केही लचिलो भएर महत्वपूर्ण समझदारी कायम गरौं भन्नुको पछाडि महत्वपूर्ण विधेयकहरू पारित गर्ने सोच पनि हो । संसदीय समितिमा लामो छलफल भएको हुन्छ, उपसमिति बनेको हुन्छ, त्यसले काम गरेर समितिले पातिर गरेर विधेयकहरू फूल हाउसमा पुर्‍याएँछ । तर, त्यहाँ कार्यसूचीमा चढेर पनि फर्किने र लामो समयसम्म रोकिने गरेका छन् ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल माओवादीले सरकारसँग दुई बुँदे सहमति गरेपछि प्रचण्डको आलोचना भएको थियो ।

यसैबीच, प्रचण्डले संघीय प्रहरी ऐन सम्बन्धी विधेयकमाथि गहिरो छलफल आवश्यक रहेको बताएका छन् ।

सरोकारवाला र सम्बन्धित सबैका रायसुझाव लिएर विधेयकमाथि दफावार छलफल गर्नु पर्ने बताएका उनले भने–‘प्रहरीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक लामो समयदेखि छलफलमा थियो । ढिलै भए पनि सरकारले प्रस्तुत गरेकोमा धन्यवाद दिन चाहन्छु । धेरै वर्षपछि यो विधेयक प्रस्तावित भएको छ । अब सम्बन्धित सरोकारवाला सबैको राय सुझाव लिएर विधेयकमाथि व्यापक छलफल गरौं र अधिकतम परिमार्जनसहित पारित गरौं ।’

उनले आफू प्रधानमन्त्री हुँदा पनि प्रहरी ऐन विधेयकका विषयमा लामो छलफल भएको र अगाडि बढाउने प्रयास गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077