काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेललाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेख्दै भनेका छन्–‘धेरै ढिला भयो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ १’
ट्रम्पले आफ्नै पहिलो कार्यकालमा जेरोम पावेललाई फेडरल रिजर्भका अध्यक्षको जिम्मेवारी दिएका थिए । तर ब्याजदर नघटाएको भन्दै ट्रम्पले पावेलको पटक–पटक आलोचना गर्दै आएका छन्।
पावेललाई बर्खास्त गर्ने कुनै योजना नै नरहेको बताउँदै आएका ट्रम्पले निरन्तर आलोचना भने गरिरहेका थिए।
ट्रम्प आर्थिक विकासलाई प्रोत्साहन दिन फेडरल रिजर्भले ब्याजदर घटाओस् भन्ने चाहन्छन् । तर पावेल ब्याजदर घटाउन चाहँदैनन् ।
पावेलले मंगलबार भनेका छन्–‘यदि ट्रम्पका भन्सार नीतिहरूको असर अर्थतन्त्रमा नपरेको भए, केन्द्रीय बैंकले पहिले नै ब्याजदर घटाइसकेको हुनेथियो ।’
यसैबीच, राष्ट्रपति ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् ।
उक्त सम्झौता अनुसार अब भियतनामबाट आयात हुने सामानमा अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लगाउनेछ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेख्दै भनेका छन्–‘यो सम्झौता अनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क लगाउने छैन ।’
यसअघि अमेरिका भियतनामबाट आयात हुने वस्तुहरूमा ४६ प्रतिशत ट्यारिफ लगाउने निर्णयमा पुगेको थियो, जुन जुलाईको दोस्रो सातादेखि लागु गरिनुपर्ने थियो।
हाल यूरोपेली संघ, जापानलगायत दर्जनौं देशहरू अमेरिकाको भन्सार शुल्क वृद्धि नीतिको प्रभाव लागु हुनु अघि नै अमेरिकासँग व्यापार सम्झौता गर्न खोजिरहेका छन्।
बेलायत र चीनसँगको सम्झौपछिको यो तेस्रो व्यापार सम्झौता हो, जुन आगामी जुलाई ९ को समयसीमाभित्र गरिन लागेको हो।
ट्रम्पले पहिलोपटक यो समाचार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत सार्वजनिक गर्दै भियतनामले अमेरिका पठाउने सम्पूर्ण वस्तुहरूमा २० प्रतिशत ट्यारिफ तिर्ने र ट्रान्सशिपिङ अर्थात् अरू मुलुक हुँदै पठाइएका सामानहरूमा ४० प्रतिशत भन्सार शुल्क लाग्ने उल्लेख गरेका छन् ।
यसको सट्टामा अमेरिकी सामानहरूमा भियतनामले कुनै शुल्क नलागाउने र अमेरिकालाई पूर्ण बजार पहुँच दिने सहमति भएको उनले स्पष्ट पारेका छन्।
ट्रम्पले लेखेका छन्–‘कम्युनिस्ट पार्टी अफ भियतनामका महासचिव तो लामसँग कुराकानी गरेपछि मैले भर्खरै समाजवादी गणराज्य भियतनामसँग व्यापार सम्झौता गरेको घोषणा गर्न पाउँदा ठूलो गौरवको महसुस गरेको छु। यो सम्झौता दुई देशबीच सहयोगको महान अध्याय हुनेछ।’