Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

धनौजी गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा दायर

धनौजी गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा दायर

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्री नारायण सिंहसहित नौ जनाविरुद्ध ३१ लाख ३४ हजार ७७८ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा सङ्घीय सरकारबाट हस्तान्तरण भएको विशेष अनुदान अन्तर्गत ‘बजार नाला तथा फोहोरमैला व्यवस्थापन’ शीर्षकमा क्रमशः ५० लाख र ४२ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

तर, योजना कार्यान्वयनको क्रममा कार्यपालिका बैठकमार्फत अनधिकृत रूपमा योजना संशोधन गरी बजार सेड तथा सटर निर्माण गरिएको पाइएको छ। गाउँपालिकासँग योजना संशोधन गर्ने अधिकार नभएको अवस्थामा पनि तेस्रो संशोधन कार्यविधि, २०७७ विपरीत कार्य गरिएको, सार्वजनिक खरिद ऐन, २०६३ को व्यवस्था नअपनाई दररेट मिलाउने गरी झुटा कागजात सिर्जना गरिएको र सम्झौताअनुसारको कार्य सम्पन्न नगरी योजना अधुरो अवस्थामा अलपत्र पारिएको आयोगले जनाएको छ।

उक्त योजनामा म्याद २०७८ चैत २५ गतेमै सकिएको भए पनि त्यसपश्चात म्याद नथपिइकन झुटा मितिमा काम भएको देखाइएको र योजना सम्पन्न गर्न कुनै ठोस प्रयास नगरेको पाइएको छ।

आयोगले धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामवति देवी मण्डल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय गौरीशंकर मण्डल र सावनकुमार चौधरी, सव-इन्जिनियर छोटे मण्डल, योजना शाखा प्रमुख नासु नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय, सह-लेखापाल विनोदकुमार मण्डल तथा एकता सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिका सञ्चालक इन्द्रेशकुमार सिंहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार आरोपपत्र दायर गरेको हो ।

उनीहरूलाई गैरकानुनी लाभ लिई राज्यलाई ३१ लाख ३४ हजार ७७८ रुपैयाँ बिगो पुर्‍याएको आरोपमा कानुनी कारबाही माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गराएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077