एजेन्सी । रूसले युक्रेनमाथि अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको छ । शुक्रबार रूसका सरकारी प्रवक्ताले युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा कुनै कूटनीतिक समाधान सम्भव नरहेको खुलासा गरेसँगै रुसले उक्त आक्रमण गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता निष्कर्षविहीन भएको केही घण्टापछि रूसले उक्त आक्रमण सुरू गरेको बीबीसीले जनाएको छ ।
किभसहित युक्रेनका अन्य सहरहरूमा रातभर ड्रोन र विस्फोटहरूको आवाज गुञ्जिएको थियो । त्यससँगै युक्रेनी हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको थियो।
राष्ट्रपति ट्रम्पले पुटिनसँगको संवादमा युद्ध अन्त्यको विषयमा कुनै प्रगति नभएको जानकारी दिए ।
रूसी सेनाले डोनेत्स्क क्षेत्रमा एक गाउँ नियन्त्रणमा लिएको दाबी गर्दै युक्रेनी भूभागमा थप दबाब सिर्जना गरेको छ ।