काठमाडौं । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोरजङ्ग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष असार २३ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
सपथ ग्रहणसँगै उनले आज बसको बैंकको सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् ।
नेपाल राष्ट्र बैंक वालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नरद्वय निलम ढुङ्गाना र बम बहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावलको उपस्थिति रहेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका अध्यक्ष कार्की यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, अर्थ मन्त्रलाय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रलायको सहसचिवको रुपमा सेवा गरिसकेका व्यक्ति हुन् ।
त्यसैगरी निजामति किताबखाना, आन्तरिक रजश्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाली सकेका अध्यक्ष कार्कीले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्यमा रहेर समेत विविध कार्यानुभव हासिल गरेका छन् ।
बैंकले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ–‘३८ वर्षभन्दा बढी अवधि नेपालको सरकारी सेवामा सेवारत रही विभिन्न आयोग, विभाग एवं निकायको सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै लामो अनुभव हासिल गरेका अध्यक्ष कार्कीको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक लिमिटेड, सेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय हो ।’
अध्यक्षको सबल नेतृत्वबाट प्रभु बैंकको व्यापार व्यवासाय अभिबृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ ।
२०८१ पुस २९ गते सम्पन्न बैंकको २३ औं वार्षिक साधारण सभामा सर्वसाधारण समूहका सेयरधनीहरुको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकमा निर्वाचित भएका किशोरजङ्ग कार्की गत असार १९ गते सम्पन्न बैंकको सञ्चालक समितिको ३८०औं बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका थिए ।