काठमाडौं । सत्तारूढ नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियानलाई ‘राजनीतिक प्रोपागान्डा’ को संज्ञा दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले लामिछानेमाथि राजनीतिक प्रतिशोधपूर्वक नियोजित अभियान चलाइएको आरोप लगाए। “एउटा नाटकीय हस्ताक्षर अभियान जारी छ,” उनले भने, “भैरहवा कारागारमा रहेका एक व्यक्तिको नाममा असार ७ गते १५ पृष्ठको याचनापत्र जारी भयो, त्यसकै आधारमा अहिले हस्ताक्षर अभियान चलाइएको छ।”
थापाले लामिछानेसँग सम्बन्धित मुद्दाहरू सर्वोच्च, उच्च र जिल्ला अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै हस्ताक्षर अभियानलाई न्यायालयमाथिको प्रत्यक्ष हस्तक्षेपको रूपमा चित्रण गरे। “सर्वोच्च अदालतको आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन,” उनले स्पष्ट पारे।
उनले सर्वोच्च अदालतको आदेशको बर्खिलाफ हुने किसिमले भइरहेका गतिविधिहरू न्यायालयको गरिमा र स्वतन्त्रतामाथि आच आउने भन्दै आपत्ति जनाए।