Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

युनुस अन्सारीलाई १५ लाख धरौटीमा छाड्न आदेश, धरौटी बुझाउन नसकेपछि जेल चलान

युनुस अन्सारीलाई १५ लाख धरौटीमा छाड्न आदेश, धरौटी बुझाउन नसकेपछि जेल चलान

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । नक्कली नोट कारोबारको आरोपमा छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले उनलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् ।

‘...यी प्रतिवादी युनुस अन्सारीबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७२ समेतका आधारमा दफा ६८ बमोजिम १५ लाख नगद जमानत वा बैंक जमानत दिए लिई कागज गराइ तारेखमा राख्नू। उक्त धरौटी दाखिला गर्न नसके निज प्रतिवादीलाई थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा लेखी पठाइदिनू भनि यो आदेश पर्चा गरिएको छ’ आदेशमा उल्लेख छ।

अन्सारी धरौटी बुझाउन नसकेर जेल चलान भएका हुन् ।

अन्सारीविरुद्ध अनुसन्धान सकेर प्रहरीले शुक्रबार मात्र रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरेको थियो ।

अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो ।

अन्सारी १० जेठमा सजाय भुक्तान गरेर ललितपुरको नख्खु कारागारबाट छुटेका थिए । नक्कली नोटको प्रकरणमा कैद भुक्तान गरेर रिहा भएलगत्तै गत जेठ १० गते शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरबाट उनलाई पक्राउ गरेको थियो।

नेशनल टेलिभिजनको अध्यक्ष रहेको बेला प्रत्यक्षरअप्रत्यक्ष रूपमा ११ करोड ६२ लाख रुपैयाँ खातामा जम्मा भएको तथा ११ करोड ३७ लाख रुपैयाँ भुक्तानी भएको देखिएपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिएको थियो ।

प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो। यस मुद्दामा युनुससहित ४ जना र १ संस्थाविरुद्ध मुद्दा दायर भएको थियो।

युनुस अन्सारी अध्यक्ष रहेको नेशनल टेलिभिजनसहित युनुसकी श्रीमती सालमा खातुन, प्रमीला अधिकारी र सुवेश्वरप्रसाद कुशवाहलाई खाताको रकम जफत गर्नका लागि प्रतिवादी बनाइएको थियो। यी तीनै जना फरार छन्। उनीहरूको खातमा १५ लाख ५९ हजार २०९ रुपैयाँ रहेको छ। उक्त रकम जफत गर्न पनि माग गरिएको छ।

त्यस्तै युनुसको नाममा रहेको जग्गा पनि जफत गर्न माग गरिएको छ। सम्पत्ति शुद्धीकरणको कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसुर हेरी २ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० जेठ २०७६ मा पक्राउ गरेको थियो । उनीहरुबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो ।

यो घटनामा उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077