काठमाडौं । कोकिनसहित पक्राउ परेका कारोबारी छुटाउन प्रहरी अधिकारी नै सक्रिय भएका छन् ।
गत शुक्रबार काठमाडौं ज्ञानेश्वरबाट ६५.९३ ग्राम कोकिनसहित पक्राउ परेका दिनेश चालिसे लगायतलाई छुटाउने खेलमा केही प्रहरी अधिकारी लागेका छन् ।
प्रहरी वृत्त मालिगाउँले ज्ञानेश्वरस्थित भगवति इन होटलमा छापा हानी चालिसे लगायत पाँच जनालाई पक्राउ गरेको थियो। नवलपरासीका सतेन्द्रबहादुर भट्ट, सिन्धुपाल्चोककी आयुषा श्रेठ, सप्तरीका प्रकाश यादब र ललितपुरका सुव्रत अधिकारी पक्राउ परेका थिए।
गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक र कपन घर भएका दिनेश चालिसे भएको प्रहरी स्रोत बताउँछ । ‘उनको केही प्रहरीका हाकिमसँग निकटता देखिएको छ,’ प्रहरी स्रोत भन्छ,‘जसकारण जसरी हुन्छ छुटाउनुपर्यो भनेर लागिपरेका छन् ।’
एन्जाइटीको बिरामी भएको भन्दै उनलाई हिरासतमा नराखी ह्या्म्स अस्पतालमा भर्ना गर्ने प्रयास समेत भएको थियो । तर, अस्पतालमा सेटिङ नमिलेपछि उनी मालीगाउँकै हिरासतमा छन् ।
उनी तातोपानी नाकाबाट भेप लगायत अवैध सामानको तस्करी समेत गर्दै आएका छन् । अवैध कारोबारबाटै उनले अकुत सम्पत्ति आर्जन गरिसकेका छन् । त्यही पैसाको जोडमा कोकिन जस्तो गम्भीर मुद्दामा उन्मुक्तिको चलखेलमा छन् । जबकी यो १५ वर्ष भन्दा बढी कैद सजाय हुने अपराध हो ।
अहिलेसम्म बरामद कोकिनको ल्याब परीक्षण भइसकेको छैन । जसकारण परीक्षणमै पनि चलखेलको आशंका छ । उनका दाई दिपेश चालिसे पनि प्रहरीमा सेटिङ गर्न अनेक खेलमा लागेका छन् ।
दिनेशको प्रहरीका एक एसपीसँग जग्गा कारोबारमा समेत साझेदारी छ । विस्तृत छानविन भएमा उनको सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान हुने अवस्था देखिएको एक प्रहरी अधिकारी बताउँछन् ।