काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्रीको भ्रमणबारे दिएको अभिव्यक्तिप्रति नेकपा एमालेको आपत्ति जनाएको छ ।
प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री लक्षित कपोकल्पित र भ्रामक आरोप लगाएको बताए ।
उनले सांसद गौमतको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे। प्रधानमन्त्रीको साथमा गएर को नफर्केको हो भन्दै प्रमाण पेस गर्न संसद मार्फत् नै जानकारी गराउन चुनौती दिए ।
‘प्रधानमन्त्रीज्यु स्पेन भ्रमण सकाएर फर्किसक्नुभएको छ। उहाँ गरिमामय संसदमै पनि यस विषयमा जानकारी गराइसक्नुभएको छ। तर, त्यसका बावजुद केही माननीयहरूले भ्रमणमा गएकाहरू स्पेनमै बसेको वा भिजिट भिसामा स्पेन गएर बसेको कपोलकल्पित र भ्रामक विषय प्रस्तुत गर्नुभएको छ।माननीयज्युहरूबाट तथ्यहीन विषयमा सभामुखले नोटिसमा लिनुपर्छ। यस्ता भ्रामक विषय रेकर्डबाट हटाइनुपर्छ ।’ बर्तौलाले भने।
उनले आरोप लगाउने सांसदहरूलाई स्पेनमै बसेका व्यक्तिको नाम सार्वजनिक गर्न चुनौती पनि दिए। उनले भने–‘को व्यक्ति फर्किएनन् भन्ने कुरा जानकारी दिन म माननीयहरूलाई चुनौती दिन्छु। यस्तो भ्रम फैलाउने काम गर्नुभएन ।’ उनले थपे।
बर्तौलाले यो अभिव्यक्ति आउने वित्तिकै फेरि माओवादीले आपत्ति जनायो। प्रमुख प्रतिपक्षी दल माओवादीका सांसदहरूले उठेर विरोध गरे।माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रश्न उठेपछि सरकारले जवाफ दिनुपर्ने माग गरे । उनले सरकारका विषयमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री वा मन्त्रीलाई दिन माओवादीले सभामुखको ध्यानाकर्षण गराए।
उनले भने–‘यो सदनमा विभिन्न विषय उठ्छन्। ती उठेका विषयमा सरकारको जवाफ माग्छौं। त्यो सरकारले जवाफ दिने हो। कुनै माननीयले दिने होइन। सरकारले वा सरकारको तर्फबाट जवाफ दिनुपर्छ। मन्त्रीले वा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’
उनले एमालेका सांसदबाट आएको जवाफ अमान्य भएको बताए। उनले भने–‘माननीयबाट जवाफ आइरहेका छन्। यसले हाम्रो संसदले हेपिएको भान भएको छ ।’
सदनमा उठेको विषयमा सांसदहरुले नै जवाफ दिएर सदनलाई हेपेको आरोप लगाएपछि पाण्डे र बर्तौलाबीच भनाभन नै भयो ।
त्यस विषयमा सभामुख देवराज घिमिरेले आफ्ना ध्यानाकर्षण भएको र उत्तरदायी भएर बोल्न सांसदहरूलाई निर्देशन दिए।
त्यसलगत्तै सभामुख घिमिरेले मन्त्रीसँग हुने सवाल जवाफ कार्यक्रमलाई सूचीबाट हटाएका थिए। त्यसविरुद्ध पनि माओवादीले विरोध गरे। आफूहरू विषयसूचीअनुसार तयारी गरेर आउने गरेकाले आफूखुसी कार्यसूचीबाट नहटाउन माओवादीका प्रमुख सचेतक पाण्डेले प्रश्न गरेका थिए।
सभामुख घिमिरेले कार्यसूचीमा राख्ने र हटाउने काम संसदको भएको भन्दै एकअर्काविरुद्ध नबोल्न निर्देशन दिएका थिए। सभामुख घिमिरेले अनुमति लिएर मात्रै बोल्नु पर्ने भन्दै तल बसेर आफू–आफू नबोल्न सचेत गराएका थिए ।
त्यसअघि सांसद गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रमको बहानामा गएका मानिसहरू नफर्किएको बताएकी थिइन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले भनेकी छन्–‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्नेलगायतका समाचारहरू पनि आइरहेका छन्। व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय गम्भीर हो।’