काठमाडौं । नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपालमा गैरकानुनी क्रिप्टोकरेन्सी तथा हुण्डी कारोबारको जालो विस्तार गरिरहेका दुई भारतीयलाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा खटिएको सीआईबीको टोलीले ललितपुर महानगरपालिका वडा नं. २, सानेपा कालोपुलस्थित “राजतिर्थ ट्रेडर्स” नामको किराना पसलको आवरणमा सञ्चालन हुँदै आएको अवैध वित्तीय कारोबारको भण्डाफोर गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी स्थायी घर भई हाल जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. २ सानेपा बस्दै आएका रुपेश कुमार गुप्ता र बिहार राज्य पुर्वि चम्पारण बिजबानी स्थायी घर भई हाल सानेपा बस्ने बिपिन कुमार गुप्ता रहेका छन् । रुपेश पसलका सञ्चालक हुन भने बिपिन उनका सहयोगी रहेको बताइएको छ ।
उनीहरुले १ अर्ब ५० करोड भन्दा माथिको गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार गरेको अनुसन्धानबाट खुलेको सिआइबीका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।
खड्काका अनुसार रुपेशको साथबाट ८ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भातीय रुपैयाँ र एक थान सिसिटीभी डिभिआर, पाँच थान मोबाइल बरामद गरिएको छ ।
यस्तै बिपिनको साथबाट संरक्षित बन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने बस्तु (७४ ग्राम) थान १ बरामद गरिएको छ ।
उनीहरुमाथि मुलुकी अपराध संहिता,२०७४ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुण्डि सम्बन्धि कारोबार गर्न नहुने कसूर र बन्यजन्तु सम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।