काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
बुधबार केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले खनालमाथि कारबाही गरिएको पत्र लुम्बिनी प्रदेश समितिलाई पठाएका हुन् ।
पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरिएको आरोपमा कांग्रेसका नेता डा. शेखर कोइराला निकट खनाललाई कारबाही गरिएको हो ।
२०७९ को संघीय तथा प्रदेशसभा निर्वाचनका क्रममा खनालले पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले अनुशासन समितिमा उजुरी दिएका थिए ।
यसबारे अनुशासन समितिले खनालसँग स्पष्टीकरण मागेको थियो । तर उनले दिएको जवाफ चित्तबुझ्दो नलागेको समितिको निष्कर्ष छ ।
नवलपरासीको बर्दघाट नगरपालिका–१० निवासी खनालको विषयलाई लिएर केन्द्रीय समिति बैठकमै नेता कोइराला र चौधरीबीच वादविवाद समेत भएको थियो ।
कारबाही गरिएको बारे खनालले भने अहिले केही नबोल्ने बताए । उनले जिल्ला क्षेत्र र नगर कमिटि बैठकमा सबै विषयमा जानकारी गराउने पनि बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले २०७९ सालमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई असहयोग गरेको भन्दै १८ जनामाथि अनुशासन कारबाही गरेको छ।
अनुशासन समितिको असार ९ गतेदेखि १७ गतेसम्म बसेको बैठकले तीनै तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवार र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीहरूमाथि कारबाही गरेको हो।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले असार ९ देखि १७ गतेसम्म बसेको बैठकले कारबाही गरेको भन्दै आज मातहत समितिहरूमा पत्राचार गरेका छन्।
‘२०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरूद्ध असहयोग गरी पराजित गराउने गलत मनशायका साथ सामाजिक सञ्जाल, अडियो/भिडियो लगायत अनेकन हत्कण्डाहरू प्रयोग गरिएका प्रमाणका आधारमा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निस्काशन/निलम्बन गर्ने निर्णय गरिएको छ,’ पत्रमा भनिएको छ।
पार्टीबाट एक वर्षका लागि कारबाही गरिएकाहरू;
१. तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा,
२. कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का
३. लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल
४. खोटाङ जिल्लाका सभापति विष्णुकमार राई
५. पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता
६ महिनाका लागि कारबाही गरिएकाहरू;
१. धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव
२. धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव
३. धनुषाधाम नगरपालिका वडा नं. १ का रामवावु यादव
४. मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव
५. कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ
६. कैलालीको धनगढी उपमहानगरपालिका २ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह
७. कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर
८. धनगढी उपमहनगरपालिका १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी
९. धनगढी उपमहानगरपालिका २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह
१०. क्रियाशील सदस्य लेखराज ओझा
११. धनगढी उपमहानगरपालिका १ का क्रियाशील सदस्य सुभाष चन्द
१२. धनगढी उपमहानगरपालिका ५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी
३ महिना कारबाही गरिएका;
१. कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी।