काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्थाको पुनःस्थापनाको माग गर्दै भएको हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा फरार रहेका तीन जना अभियुक्त बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्।
अदालतले तीमध्ये एक अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने दुई जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले अभियुक्त सतीश न्यौपानेलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गर्न आदेश दिएको हो। अन्य दुई अभियुक्तहरू विनञ्जय थापा र राजेन्द्र जिसीलाई भने जनही १५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ।
उनीहरूविरुद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।
गत चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वको समूहद्वारा आयोजित आन्दोलन हिंसात्मक बनेपछि सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, झडप र ज्यानसमेत जाने अवस्था सिर्जना भएको थियो।
उक्त घटनामा पत्रकार सुरेश रजकको आगलागीमा मृत्यु भएको थियो भने प्रदर्शनकारी सबिन महर्जन प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए।
सरकारी वकिलको कार्यालयले घटनामा संलग्न रहेको अभियोगमा दुर्गा प्रसाईं, राप्रपा नेता रविन्द्र मिश्र, सांसद धवलशम्शेर राणासहित ६५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।