काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारको चरणमा रहेको बताउँदै अब निराश हुने अवस्था नरहेको स्पष्ट पारेका छन् ।
शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (सेजन) द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा स्पष्ट पारेका हुन् । उनले आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख भइरहेकाले सबै राजनीतिक दल र सामाजिक क्षेत्रले आशा र विश्वासका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
“अब ‘केही भएन’ भन्ने मानसिकता छाड्नुपर्छ,” मन्त्री पौडेलले भने, “मुलुकको आर्थिक अवस्था निरन्तर सुधार भइरहेको छ र यसलाई तथ्याङ्कले पनि पुष्टि गर्छ।”
उनले सरकारले सार्वजनिक गर्दै आएको तथ्यांकहरू विश्वसनीय रहेको भन्दै कुनै पनि पक्षले त्यसलाई तोडमोड गर्न नसक्ने दाबी गरे।
कार्यक्रममा मन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए।
उनले बजेटमा स्पष्ट पारिएको ‘टेक एन्ड पे’ नीतिअनुसार विद्युत् उत्पादनपछि खरिदको सुनिश्चितता गरिएको र यो ऊर्जा क्षेत्रको लगानीमैत्री वातावरण निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।