काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरू समयमा सम्पन्न नहुँदा अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुख पाउने अवस्थामा क्रान्तिकारी रूपमा परिवर्तन गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औं बैठकमा समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।
उनले विकासलाई केन्द्रित गरेर अघि बढे पनि सोचे जति कामले गति लिन नसकेका समस्याहरू पहिचान गरी स्पष्ट कार्ययोजनाका साथ लाग्न आग्रह गरे ।
उनले सुनकोसी मरिन डाइभर्सन आयोजनाको सुरुङ बने पनि बाँकी कामको ठेक्का समयमा लाग्न नसकेको चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्तिबाट समयमा परिणाम र उत्पादन दिन नसकिने बताए ।
‘जनतालाई मलमा अनुदान दिने नीति छ तर मल चाहिँ समयमा पाइँदैन। यस खालको जनता अलमल्याउने कुरा नगरौं। बरु अनुदान घटाऔं, आपूर्ति बढाऔं,’ प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘हामीले देशको छिटो गतिमा विकास गर्नुछ। लागत अनुमान १२ अर्बबाट थालनी गरिएको कुनै आयोजना ५२ अर्बसम्म लाग्ने स्थिति पनि देखिएको छ। यो स्थिति कसरी आयो ? यस्तो अति लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ?’
प्रधानमन्त्री ओलीले सम्झौता गरिएको ठेकेदार वा ढाँचाबाट काम नभए अर्को बाटो लिन जोड दिँदै यस्तो गतिले हामी उठ्न नसक्ने भएकाले कामको तरिकामा क्रान्तिकारी रूपमा परिवर्तनका लागि चुस्त रूपमा गर्ने शैलीमा लाग्न आग्रह गरे।