काठमाडौं । सभामुख देवराज घिमिरेले सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका लागि अफ्रिकी मुलुक रुवाण्डा विश्वमै एक उदाहरणीय राष्ट्र बन्न सफल भएको बताएका छन् ।
भूपरिवेष्टित एवं अल्पविकसित मुलुक रुवाण्डाको ३१औँ मुक्ति दिवसको उपलक्ष्यमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
उनले केही वर्षअघि मात्र कूटनीतिक सम्बन्ध कायम भएको रुवाण्डासँग पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषि, व्यापारलगायतका क्षेत्रमा सहकार्य गरी लाभान्वित हुनसक्ने सम्भावना रहेको बताए ।
द्वन्द्वका कारण अपुरणीय धनजनको क्षति व्यहोरेका दुवै देशले राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा उल्लेखनीय योगदान गरेको उल्लेख गर्दै उनले अल्पविकसित राष्ट्रका हैसियतले आपसी सहयोग र सहकार्यको नीतिलाई प्राथमिकता दिइ दुवै देशका जनताको जीवनस्तर सुधारका पक्षमा यथासक्य बढी सहकार्य हुन आवश्यक रहेको धारणा व्यक्त गरे।
भारत र नेपालका लागि गणतन्त्र रुवाण्डाकी राजदूत मुकाङ्गीरा जाक्लीनले सुशासन, पारदर्शिता, लैङ्गिक समानता, समावेशी सहभागिताजस्ता महत्वपूर्ण एवं आधारभूत पक्षलाई प्राथमिकता दिइ तीव्र आर्थिक वृद्धिदरका साथ रुवाण्डा अहिले विकास र समृद्धिको बाटोमा अघि बढिरहेको जानकारी दिए।