काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस नागार्जुन नगरपालिका वडा नं २ ले आयोजना गरेको एसईई सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले देशमा केही हुँदैन भनेर युवा पुस्तालाई भ्रमित गर्ने प्रयास भइरहेको बताए ।
'देशमा केही भएन, हुँदैन भनेर गलत भाष्य बनाउन खोजिएको छ । जसले जे भन्यो त्यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन । युवा विद्यार्थीले सत्यतथ्य के हो ? विवेकको प्रयोग गरेर बुझ्नुपर्छ,' उपप्रधानमन्त्री सिंहले भेने, 'लहैलहैमा नलागौं। केही भएन भन्ने सत्य होइन। विगतमा के थियो र अहिले के परिवर्तन भएको छ युवा विद्यार्थीहरूले आफ्नै अग्रज र अभिभावकहरूसँग सोध्नुभयो भने थाहा हुन्छ। धेरै कुरा भएको छ, अझै गर्न बाँकी धेरै छ।'
उनले अहिले नेपालमा शिक्षा क्षेत्रमा विगतमा भन्दा धेरै प्रगति भएको बताए।