काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनः प्रवेशलाई वामपन्थी एकताको सन्देशका रूपमा लिनुपर्ने बताएका छन् ।
शनिबार चीन भ्रमण सकेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले वाम एकताको पक्षमा भण्डारीको राजनीतिक सक्रियता सकारात्मक रहेका हुन् ।
“विद्यादेवी भण्डारी वामपन्थी एकताका लागि राजनीतिमा आउन लागेकी हुन् भने त्यसलाई स्वागतयोग्य मान्नुपर्छ,” खनालले भने, “यदि उनले एमालेको नेतृत्व सम्हालेर एकताको पहल गर्न खोजेकी हुन् भने त्यो थप सकारात्मक संकेत हो।”
खनालले नेपालमा हाल सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले रहेको उल्लेख गर्दै, एउटै छातामुनि वाम शक्तिहरूलाई समेट्ने जिम्मेवारी एमालेकै भएको जिकिर गरे।