विराटनगर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले कोइराला निवास कांग्रेसजनका निम्ति ‘साझा र पवित्र भूमि’ भएको टिप्पणी गरेका छन् । बुधबार बिहान मोरङको विराटनगरस्थित कोइराला निवास पुगेका उनले यस्तो टिप्पणी गरेका हुन् ।
पार्टी सहमहामन्त्री महेन्द्र यादव र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासँग उनी कोइराला निवास पुगेका थिए ।
कोइराला निवास कांग्रेसजनका निम्ति ‘साझा र पवित्र भूमि’ भएको उनले बताए । उनले भने ‘‘यहाँ आउनु भनेको एउटा पवित्र भूमिमा आएजस्तै हो । यसलाई राजनीतिक गुटसँग जोडेर हेरिनु हुन्न । निवासलाई गुटको हिसाबले हेरिनु हुँदैन ।’’
नेता खाँणले लोकतन्त्र प्राप्तिका निम्ति बीपी, मातृकाप्रसाद, गिरिजाप्रसाद र सुशील कोइरालाजस्ता नेताहरूको भावनात्मक सम्बन्ध निवास र आमनागरिकसँग रहेको बताए । नेपाल–भारतमैत्री संघको कार्यक्रममा सहभागी हुन उनी मंगलबार विराटनगर आएका हुन् ।