काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै आएको जसपा नेपालको बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनका अनुसार सरकारलाई दिएको समर्थन लिएकोबारे सभामुख देवराज घिमिरेलाई जानकारी समेत गराइसकिएको छ ।
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको थियो ।
सोही बमोजिम संसदीय दलको बैठकबाट आज समर्थन फिर्ताको औपचारिक निर्णय गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समर्थन फिर्ता लिएसँगै सत्ता साझेदार दल संख्या अब ६ वटामा झरेको छ ।
गत वर्ष ३१ असारमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदा नेपाली कांग्रेस, नेकपा एमाले सहित ७ राजनीतिक दलका १८८ जना सांसदले समर्थन दिएका थिए ।
तर, जसपाको आजको निर्णयले राष्ट्रिय सभामा सत्तारुढ दलहरु अब अल्पमतमै पर्ने भएको छ । ३ सांसद रहेको जसपा नेपालको साथ नपाउँदा यसअघि नै राष्ट्रिय सभामा सत्तारुढ अल्पमतमा परेको थियो ।
५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेससँग १६ र एमालेसँग ११ सिट मात्र छ । सरकारमा रहेको अर्को दल लोसपासँग एक सिट छ । यो संख्या जोड्दा २८ मात्र हुन्छ ।
तर विपक्षमा भने बहुमत जुटेको छ । माओवादीसँग १७, एकीकृत समाजवादीसँग ८, जसपा नेपालसँग ३ र राष्ट्रिय जनमोर्चासँग एक सिट छ ।
राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले पनि एकीकृत समाजवादीमा प्रवेश गर्ने निर्णय गरेका छन् । त्यसैले ओली सारकार राष्ट्रियसभामा अल्पमतमा परेको हो ।