काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । नयाँ आर्थिक वर्षको प्रारम्भसँगै सरकारले बजेट, नीति तथा चालुकार्यक्रम र मौद्रिक नीति कार्यान्वयनमा आएको छ ।
नयाँ आर्थिक वर्ष शुरुभएसंगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा गएको छ । अर्थ मन्त्रालयले मार्गदर्शन बनाएर आजदेखि बजेट कार्यान्वयनमा लगेको हो ।
अर्थमन्त्री पौडेलले आव २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएका छन् । चालू आवको बजेटमा चालु शीर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजना छ ।
यस बजेटका राजश्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट स्रोत जुटाइने भएको छ ।
नयाँ आर्थिक वर्षमा देशका केही ठूला पूर्वाधारहरूले पूर्णता पाउने भएका छन् । त्रिविस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, आबुखैरेनी–पोखरा सडक विस्तार, नारायणगढ–बुटवल सडक खण्ड विस्तार, नागढुङ्गा सुरुङ मार्ग लगायत महत्त्वपूर्ण पूर्वाधारहरू यसै आर्थिक वर्षमा सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ ।